काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढी प्रभावित १५ पालिकाका प्रमुखसँग उद्धार, राहत तथा व्यवस्थापनबारे छलफल गरेका छन्।
आइतबार रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित पालिका प्रमुखसँग छलफल गर्दै उनले तत्काल उद्धार तथा राहतमा सहजीकरण गर्न पार्टीको परिचालन संयन्त्रलाई निर्देशन दिएका हुन्।
पालिका प्रमुखहरूले शव व्यवस्थापन, बेपत्ताको खोजी, सडक तथा पुल, विद्युत् र सञ्चारलगायत पूर्वाधारको समस्या उठाएका थिए। लामिछानेले सरकारी निकाय र स्थानीय तहसँग समन्वय गरेर आवश्यक सहयोग जुटाउन संयन्त्रलाई निर्देशन दिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
लामिछानेले बागमती प्रदेशका मुख्यमन्त्रीसँग समेत राहत तथा उद्धार व्यवस्थापनबारे छलफल गरेका छन्। सरकारले भोटेकोशी बाढीबाट प्रभावित १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ।





















प्रतिक्रिया