नारायणीको भेलले शव भारतको उत्तर प्रदेश पुर्‍यायो


बुटवल । भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएका शवहरू रसुवादेखि लुम्बिनी प्रदेश हुँदै भारतको उत्तर प्रदेशसम्म पुगेका छन् ।

पश्चिम नवलपरासीमा आइतबार साँझसम्म १२० वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार अधिकांश शव बाहिरी जिल्लाबाट बाढीले बगाएर ल्याएको अनुमान गरिएको छ ।

जिल्लाका नदी किनार तथा नहरहरूमा शव भेटिने क्रम अझै जारी रहेकाले खोजी तथा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले खोजी र व्यवस्थापनलाई निरन्तरता दिइने बताएका छन् ।

यस्तै, नारायणी नदीको बहावसँगै केही शव भारतको उत्तर प्रदेशसम्म पुगेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार महाराजगन्जमा ६ र कुशीनगरमा ४ वटा शव फेला परेका छन् ।

यसैबीच, हराइरहेका आफन्तको खोजीमा परिवारहरू अस्पतालका शवगृहसम्म पुगिरहेका छन् । रसुवाका हुमनाथ न्यौपाने पनि सम्पर्कविहीन भान्जीज्वाइँ प्रकाश देवकोटाको तस्बिर बोकेर लुम्बिनी प्रादेशिक अस्पताल पुगेका छन् ।

बाढी आएको केही दिन बितिसक्दा पनि धेरै परिवार भने आफ्ना आफन्तको सास वा लासको पर्खाइमा छन्।