सुदूरपश्चिमको विपद् कोषबाट रसुवालाई २ करोड


धनगढी । बजेटविहीन अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका भोटेकोशी बाढीपीडितका लागि २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट २ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

प्रदेश विपद् व्यवस्थापन कोषमा करिब ५ देखि ७ करोड रुपैयाँ मौज्दात रहेको र विपद्का बेला उक्त रकम प्रयोग गर्न कानुनी बाधा नरहेको सरकारका प्रवक्ता प्रकाश रावलले बताए।

बजेट अभावका कारण प्रदेश सरकारका कर्मचारी तथा मन्त्रीले तलबसमेत नपाएको अवस्थामा मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक पनि रसुवा बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरेका छन्। सरकारले भदौभित्र नयाँ बजेट ल्याउने तयारी गरिरहेको जनाएको छ।