काठमाडौं – अभिनेता अरुण क्षेत्रीलाई शीर्ष भूमिकामा लिएर निर्माता सरोज न्यौपानेले निर्माण गर्न लागेको नयाँ नेपाली चलचित्रको नाम ‘फेरि भेटौंला’ राखिएको छ ।
क्षेत्री अभिनीत पछिल्लो चलचित्र ‘गौंथली’ बक्सअफिसमा सफल भइरहेको समयमा निर्माता न्यौपानेले गत साता आफ्नो नयाँ चलचित्रको घोषणा गरेका थिए । अहिले आएर निर्माणाधीन चलचित्रको शीर्षक सार्वजनिक गरिएको हो ।
रोमान्टिक कमेडी जनरामा निर्माण हुने चलचित्रमा अरुण क्षेत्री मुख्य भूमिकामा रहनेछन् । निर्माता न्यौपानेका अनुसार चलचित्रको मुख्य अभिनेत्रीमा आँचल शर्मा रहने सम्भावना बलियो छ । आँचलसँग मौखिक सहमति भइसके पनि लिखित सम्झौता हुन बाँकी रहेको उनले जानकारी दिए ।
चलचित्रको पटकथा रमेश गजुरेलले लेखिरहेका छन् । पटकथा फाइनल भएपछि तिहारलगत्तै छायांकनमा जाने तयारी भइरहेको निर्माता न्यौपानेले बताए । चलचित्रलाई २०८४ सालको वैशाखमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
निर्माताका अनुसार चलचित्रको बजेट ४ करोड रुपैयाँभन्दा बढी हुनेछ । चलचित्रका लागि थप एक जना शीर्ष अभिनेत्रीको समेत खोजी भइरहेको छ । यद्यपि, चलचित्रको निर्देशक भने अहिलेसम्म फाइनल भएका छैनन् ।
‘मेरा हरेक फिल्मको निर्देशक पछि निश्चित हुन्छन् । स्क्रिप्ट फाइनल भएपछि मात्र निर्देशन तय गर्ने गरेको छु,’ निर्माता न्यौपानेले भने । उनका अनुसार यसपटक भने उनका पुराना निर्देशक फर्किने सम्भावना छैन ।
सरोज न्यौपानेले यसअघि ‘सम्बोधन’, ‘ग्याङस्टर’, ‘ब्लुज’ र ‘जेरी अन टप’ लगायतका चलचित्र निर्माण गरिसकेका छन् ।
रोचक पक्ष के छ भने सन् १९९० मा पनि ‘फेरि भेटौंला’ नामकै चलचित्र निर्माण भएको थियो । उक्त चलचित्र अभिनेत्री मनिषा कोइरालाको डेब्यू चलचित्रसमेत हो ।




















प्रतिक्रिया