काठमाडौँ। रसुवामा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति निम्त्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार बिहान ११ बजेसम्म बाढी तथा विपद्का घटनामा १ हजार ३ सय ७७ जनाको मृत्यु भइसकेको छ भने ५ हजार १ सय ३० जना अझै बेपत्ता छन्।
बाढीपछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहे पनि बेपत्ताको सङ्ख्या ठूलो रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने चिन्ता देखिएको छ। हालसम्म फेला परेका शवमध्ये १०४ जनाको मात्र सनाखत भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ। उपचारका क्रममा काठमाडौँमा दुई जनाको समेत मृत्यु भएको छ।
बाढीपछि रसुवा र नुवाकोट क्षेत्रमा ठूलो सङ्ख्यामा मानिस बेपत्ता छन्। आफन्तजन आफ्ना परिवारका सदस्यको खोजीमा भौँतारिरहेका छन् भने उद्धार टोलीले सम्भावित क्षेत्रमा खोजीलाई तीव्र बनाएको छ।
विपद्बाट घाइते भएका ३३३ जनाको विभिन्न १९ वटा अस्पतालमा उपचार भइरहेको छ। उपचारपछि २५६ जना डिस्चार्ज भइसकेका छन्। उद्धारतर्फ हालसम्म १३ हजार ६५६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
उद्धार गरिएका तथा विस्थापित नागरिकलाई सुरक्षित राख्न ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। ती केन्द्रमा नुवाकोटका २ हजार ६१५, रसुवाका ७७५ र धादिङका २९५ जना आश्रय लिएर बसेका छन्।
प्रभावित क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीका हेलिकप्टर तथा अन्य हवाई साधनमार्फत उद्धार र राहत सामग्री पुर्याउने काम जारी छ। नेपाली सेनाले १ हजार ३४८ र सशस्त्र प्रहरीले २७२ वटा हवाई उडानमार्फत उद्धार तथा राहत सामग्री ओसारपसार गरेका छन्।
विपद्पछि खोज, उद्धार र सुरक्षाका लागि २१ हजार ६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ८ हजार ८८५, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना रहेका छन्।
सरकारले प्रभावित क्षेत्रमा राहत रकमसमेत पठाएको छ। रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ। त्यस्तै प्रभावित १५ पालिकाका लागि कुल १३ करोड ५० लाख रुपैयाँ राहत रकम पठाइएको छ।
बाढीले सडक तथा भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएपछि प्रभावित बस्तीमा खाद्य तथा गैरखाद्य सामग्री पुर्याउने काम चुनौतीपूर्ण बनेको छ। यद्यपि सडक तथा हवाईमार्गमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पठाउने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ।
बाढीको केही दिन बितिसक्दा पनि हजारौँ नागरिक बेपत्ता रहनुले विपद्को भयावहता अझ स्पष्ट पारेको छ। आफन्तको पर्खाइमा रहेका परिवारका आँखामा आशा र पीडा दुवै देखिन्छन् भने उद्धारकर्मीहरू सम्भावित स्थानमा बेपत्ताको खोजीमा जुटिरहेका छन्।




















प्रतिक्रिया