काठमाडौं – शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली’ ले पहिलो दिनदेखि नै दर्शकको उत्साहजनक साथ पाएको छ । शनिबार बिदाको दिन हलमा दर्शकको चाप अझ बढेको निर्माण पक्षले जनाएको छ ।
करिब १०० शोबाट प्रदर्शन सुरु गरेको चलचित्रले दर्शकको उच्च माग पाएपछि मल्टिप्लेक्स तथा एकल स्क्रिनमा थप शोसमेत पाएको छ ।
चलचित्रको प्रचार तथा दर्शक प्रतिक्रिया बुझ्न मुख्य कलाकार पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँ लगायतको टोली काठमाडौंका विभिन्न हलमा पुगेको छ । कलाकारसँग दर्शकले प्रत्यक्ष भेटघाटसमेत गरिरहेका छन् ।
हलमा चलचित्र हेरेका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षको दाबी छ । चलचित्रले समाजभित्रको यथार्थ, युवा पुस्ताको मनोभाव र परिवारसँग जोडिएको मार्मिक कथालाई पर्दामा प्रस्तुत गरेको छ ।
प्रस्तुतकर्ता अर्जुन पोखरेलले स्तरीय तथा दर्शकले रुचाउने कथावस्तुका कारण चलचित्र दर्शकको रोजाइमा परेको बताए ।
यस्तै, वितरक गोविन्द शाहीले शुक्रबारको व्यापार सुखद रहेको र शनिबार हलमा दर्शकको चाप उल्लेख्य रूपमा बढेको बताए । दर्शकको मागअनुसार प्रदर्शनकै क्रममा थप शो उपलब्ध गराइएको उनको भनाइ छ ।
माधव शर्माको लेखन तथा शशान कँडेलको निर्देशनमा बनेको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन् । कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल तथा सह–निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन् ।




















प्रतिक्रिया