काठमाडौं – बजारमा देखिएको ग्यास अभाव समाधान गर्न सरकारले भोलिदेखि दैनिक १६० बुलेट एलपी ग्यास आयात गर्ने तयारी गरेको छ।
उद्योगमन्त्री दीपक साहले ग्यासको आपूर्ति बढाउन भारतसँग अनुरोध गरिएको र भारतबाट समेत सहमति प्राप्त भएको जानकारी दिएका छन्।
मंगलबार पत्रकारहरूसँगको छलफलमा मन्त्री साहले तत्काल आपूर्ति बढाएर बजारमा देखिएको अभाव हटाउने प्रयास भइरहेको बताए। उनका अनुसार बढाइएको आयातसँगै एक साताभित्र ग्यास अभावको समस्या समाधान हुने अपेक्षा गरिएको छ।
मन्त्री साहले मंगलबार नेपाल आयल निगम पुगेर ग्यासको माग तथा आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए। त्यसक्रममा अभाव समाधानका लागि आयातको मात्रा बढाउन निगमलाई निर्देशन दिइएको र सोहीअनुसार निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई पत्राचार गरेको उनले बताए।
यसअघि नेपालमा दैनिक करिब १०० बुलेट ग्यास आयात हुँदै आएको थियो। तर त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा सडक कटान भएपछि ग्यासको नियमित आपूर्ति प्रभावित भएको थियो।
हाल मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत काठमाडौंलगायतका बजारमा ग्यास आपूर्ति भइरहेको छ।
सरकारले आयातको मात्रा बढाएसँगै बजारमा देखिएको ग्यास अभाव क्रमशः सहज हुने जनाएको छ।


















प्रतिक्रिया