तिलगंगा आँखा प्रतिष्ठानमा बेथितिको आरोप, संसदीय समितिमा पुग्यो उजुरी


काठमाडौं । नेपाल तिलगंगा आँखा प्रतिष्ठानभित्र आर्थिक अपचलन तथा शिक्षकहरूमाथि श्रम शोषण भएको दाबीसहित प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उजुरी परेको छ।

प्रतिष्ठानअन्तर्गतका शैक्षिक कार्यक्रममा लामो समयदेखि अध्यापन गर्दै आएका ९ जना शिक्षकले सामूहिक रूपमा उजुरी दर्ता गराएका हुन्।

उजुरीमा प्रतिष्ठानअन्तर्गतका विभिन्न कार्यक्रमबाट प्राप्त आम्दानी ‘तिलगंगा होल्डिङ’ नामक निजी कम्पनीमार्फत सारेर करोडौँ रुपैयाँ अपचलन गरिएको आरोप लगाइएको छ। विदेशी दाता तथा सरकारी निकायबाट प्राप्त सहयोगसमेत निजी कम्पनीमार्फत दुरुपयोग भएको दाबी शिक्षकहरूको छ।

त्यस्तै, सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन माग गरेपछि आफूहरूलाई हाजिरी गर्न तथा कक्षामा प्रवेश गर्न रोक लगाइएको शिक्षकहरूले बताएका छन्। उनीहरूले २०८१ भदौपछि केही महिनाको पारिश्रमिकसमेत रोकिएको दाबी गरेका छन्।

शिक्षकहरूले प्रतिष्ठानका आर्थिक तथा प्रशासनिक अभिलेख, हाजिरी रजिस्टर, सीसीटीभी फुटेजलगायत कागजात झिकाएर निष्पक्ष छानबिन गर्न, बक्यौता पारिश्रमिक उपलब्ध गराउन र दोषीमाथि कारबाही गर्न संसदीय समितिसमक्ष माग गरेका छन्।