कृष्णभीरमा खुल्यो सडक, भोलिदेखि सबै सवारीसाधन सञ्चालन


काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडकखण्डमा नवनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । २७० मिटर लामो सडकखण्डको करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार नवनिर्मित सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सब–सर्फेस ड्रेनेज निर्माणको काम पूरा भइसकेको छ । बाँकी सब–बेसको काम बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको छ ।

निर्माण कार्यलाई समयमै सम्पन्न गर्न रातिको समयमा समेत काम भइरहेको छ । त्यसका लागि सडकखण्डमा पर्याप्त फ्लड लाइटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

सडकको निर्माण अन्तिम चरणमा पुगेसँगै असोज १ गतेदेखि कृष्णभीर सडकखण्डमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालनमा ल्याइने भएको छ । यससँगै पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई सहज हुने अपेक्षा गरिएको छ ।

यसअघि कृष्णभीर सडकखण्डमा सडक निर्माण तथा व्यवस्थापनका कारण सवारी आवागमन प्रभावित हुँदै आएको थियो । नयाँ सडक निर्माण सम्पन्न भएपछि उक्त क्षेत्रमा यातायात सञ्चालन थप सहज हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।