माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा अन्तिम चरणमा, सुनुवाइ निर्णायक मोडमा


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा मुद्दाको पेसी तोकिएको हो।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको छ। यसअघि अदालतले तत्कालीन मन्त्री तथा सम्बन्धित व्यक्तिहरूलाई बकपत्रका लागि झिकाउने आदेश दिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते दायर गरेको मुद्दामा माधव नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय मागदाबी गरेको छ।

अख्तियारका अनुसार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टाका लागि पतञ्जलिलाई स्वीकृति दिएको थियो। ३१४ रोपनीभन्दा बढी सरकारी जग्गा बिक्री तथा हिनामिनासँग जोडिएको उक्त प्रकरणमा ९३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।