आन्दोलनका कारण बन्द थापाथली सडक सञ्चालनमा


काठमाडौं । माइतीघर मण्डलामा लामो समयदेखि जारी धर्नाका कारण अवरुद्ध हुँदै आएको थापाथलीतर्फ जाने सडक खुलाइएको छ। बुधबार बिहान प्रहरीले सडकमा राखिएका आन्दोलनकारीका टेन्ट हटाएपछि सडक सञ्चालनमा आएको हो।

सडकमा टेन्ट राखेर रातभर बस्दा सुरक्षा तथा स्वास्थ्यमा समस्या हुन सक्ने भन्दै प्रहरीले टेन्ट हटाएको जनाएको छ। प्रहरीले दिउँसोको समयमा प्रदर्शन गर्न अवरोध नगर्ने तर राति माइतीघर क्षेत्रमा नबस्न आग्रह गरेको छ।

सडक खुलाइएपछि माइतीघर–थापाथलीतर्फको सवारी आवागमन पुनः सञ्चालनमा आएको छ। यसअघि आन्दोलनकारीको दिनरातको उपस्थितिका कारण उक्त सडकखण्ड लामो समयदेखि प्रभावित हुँदै आएको थियो।