ईभी दुर्घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए पुकार बमले


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले पछिल्लो समय विद्युतीय (ईभी) सवारी दुर्घटना बढेको भन्दै सडक सुरक्षा प्रणाली सुधारमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दुर्घटनाका लागि सवारीसाधनलाई मात्र दोष नदिई चालकको सीप, अनुभव र लाइसेन्स वितरण प्रणालीमा सुधार गर्नुपर्ने बताए। ईभीको प्रविधि, ब्याट्री व्यवस्थापन र चार्जिङबारे चालकलाई पर्याप्त जानकारी दिनुपर्ने उनको भनाइ छ।

बमले ईभी सुरक्षासम्बन्धी शिक्षा कार्यक्रम सञ्चालन गर्न, लाइसेन्स तालिममा ईभीसम्बन्धी छुट्टै विषय समेट्न तथा दुर्घटनापछिको उपचारका लागि देशभर ट्रमा सेन्टर विस्तार गर्न सरकारसँग माग गरे।