राजविराज अस्पतालमा महिलाले अस्पतालबाहिर शिशु जन्माएको घटनाको छानबिन प्रतिवेदन प्राप्त


काठमाडौँ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिर महिलाले शिशु जन्माउनुपरेको घटनाबारे गठित अनुगमन समितिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित समितिले स्थलगत अध्ययन गरी सेवा प्रवाह, स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासनको भूमिकाबारे छानबिन गरेको थियो। प्रतिवेदनमा आचारसंहिता उल्लङ्घनका विषयमा आवश्यक कारबाही गर्न सम्बन्धित काउन्सिलमा पठाइएको मन्त्रालयले जनाएको छ।

समितिले अस्पतालको कर्मचारी व्यवस्थापन अव्यवस्थित रहेको औँल्याएपछि ८० अस्थायी दरबन्दी थप गर्ने प्रस्ताव अघि बढाइएको छ। साथै, सात जना चिकित्सकलाई दुई वर्षका लागि अस्पतालमा पठाइएको मन्त्रालयले जनाएको छ। प्रतिवेदन भने सार्वजनिक गरिएको छैन।