काठमाडौँ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट संकलित सुझावमा नैतिक शिक्षा, संस्कार, कृत्रिम बुद्धिमत्ता (एआई), कोडिङ, जलवायु परिवर्तन, सीप तथा उद्यमशीलतालाई पाठ्यक्रममा समेट्नुपर्नेमा जोड दिइएको छ।
पाठ्यक्रम विकास केन्द्रले सातै प्रदेशका ४६ केन्द्रमा सञ्चालन गरेको सुझाव संकलन अभियानमा २५ हजारभन्दा बढी व्यक्ति सहभागी भएका छन्। विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय तह तथा अन्य सरोकारवालासँग कक्षाकोठामै पुगेर पाठ्यक्रम कार्यान्वयन र सुधारका विषयमा सुझाव लिइएको केन्द्रले जनाएको छ।
सरोकारवालाले पाठ्यक्रमलाई व्यवहारिक, लचिलो र समयसापेक्ष बनाउनुपर्ने, शिक्षकको क्षमता विकास तथा मूल्याङ्कन प्रणाली सुधार गर्नुपर्ने सुझाव दिएका छन्। ‘बुक फ्री डे’ र ‘व्यागलेस डे’ जस्ता अभ्यासलाई प्रभावकारी बनाउनुपर्ने विषयसमेत उठेको छ।
केन्द्रका अनुसार प्राप्त सुझावसँगै विज्ञका १२ वटा थिमेटिक पेपर तथा विभिन्न अनुसन्धानका निष्कर्षलाई आधार बनाएर राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको काम अघि बढाइनेछ।


















प्रतिक्रिया