राहत, उद्धार र पुनर्स्थापनामा सरकार जुटेको प्रवक्ता पोखरेलको भनाइ


काठमाडौँ । सरकारले बाढी–पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालयमार्फत काम अघि बढाइरहेको जनाएको छ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार घरविहीनलाई हाल होल्डिङ सेन्टरमा राखेर अस्थायी आवासको व्यवस्था भइरहेको छ। घरजग्गा पूर्ण क्षति भएका परिवारलाई स्थानान्तरण गर्न भूमि व्यवस्था मन्त्रालयले जग्गा खोजी गरिरहेको छ।

स्वास्थ्य मन्त्रालयले प्रभावितलाई निःशुल्क उपचार तथा शिक्षा मन्त्रालयले क्षतिग्रस्त विद्यालयका विद्यार्थीका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालन र आवश्यक स्थानान्तरणको काम गरिरहेको उनले बताए। अभिभावक गुमाएका बालबालिकालाई छात्रवृत्तिसहित आवासीय शिक्षाको व्यवस्था गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।

विदेशमा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन परराष्ट्र मन्त्रालयले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाएको प्रवक्ता पोखरेलले जानकारी दिए।