प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रसंघ महासभामा नेपाली टोली


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डल अर्को साता संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने भएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रधानमन्त्रीको नेतृत्वमा आफू पनि टोलीमा सहभागी हुने जानकारी दिए। महासभामा नेपालको राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मुद्दा प्रस्तुत गरिने उनले बताए।

बैठकमा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग र जलवायु वित्तबारे समेत छलफल भएको थियो। महासभामार्फत नेपालका जलवायु तथा कूटनीतिक प्राथमिकता प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा पनि छलफल भएको समितिले जनाएको छ।