हिमाली विपद् रोक्न एकीकृत विकास मोडल बनाउन माग


काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा–भोटेकोशीमा आएको विपद्ले नेपालको पछिल्लो विकास अवधारणामाथि नै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको बताएका छन्।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपालको बस्ती, सडक, उत्तर–दक्षिण करिडोर, जलविद्युत् र अन्तरदेशीय कनेक्टिभिटी मुख्य नदी प्रणालीमा आधारित रहेकाले हिमाली विपद्लाई समग्र विकास योजनासँग जोडेर हेर्नुपर्ने बताए।

मन्त्री खनालले पछिल्लो विपद्लाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै यसले विगत २०–२५ वर्षदेखि अघि बढाइएको समृद्धिको सोचलाई पुनर्विचार गर्नुपर्ने अवस्था ल्याएको उल्लेख गरे। बदलिँदो जलवायु जोखिमलाई ध्यानमा राख्दै विकासको नयाँ मोडल, सरकारी नीति र स्रोत परिचालनबारे समग्र रूपमा पुनर्विचार आवश्यक रहेको उनको भनाइ छ।

उनले विपद् व्यवस्थापनलाई कुनै एक निकायको जिम्मेवारीका रूपमा मात्र नभई बस्ती, ऊर्जा, सडक, कनेक्टिभिटी र लगानीसँग जोडेर समग्र सरकारी दृष्टिकोणबाट अघि बढाउनुपर्ने बताए।