जलवायु परिवर्तन अब वातावरणको विषय मात्रै रहेन, कूटनीति र विकाससँग जोडियो


काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको महासभा वा कोप सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्दैमा मात्र दीर्घकालीन उपलब्धि हासिल नहुने बताएका छन्।

सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा जलवायु परिवर्तनसम्बन्धी विज्ञहरूसँग छलफल गर्दै उनले नेपालले जलवायु कूटनीतिलाई देशभित्रै संस्थागत गर्नुपर्नेमा जोड दिए।

मन्त्री खनालले जलवायु परिवर्तनलाई वातावरणीय विषयमा मात्र सीमित नगरी कूटनीति, विकास, अर्थतन्त्र र विज्ञानसँग जोडेर हेर्नुपर्ने बताए। उनका अनुसार जलवायु विज्ञान, अनुसन्धान, घरेलु नीति र अन्तर्राष्ट्रिय कूटनीतिलाई जोड्ने प्रभावकारी संस्थागत संयन्त्र आवश्यक छ।

उनले हाल जलवायु परिवर्तनसम्बन्धी काम मुख्यतः वातावरण मन्त्रालय केन्द्रित रहेको उल्लेख गर्दै जलवायु कूटनीतिमा परराष्ट्र मन्त्रालयको संस्थागत संलग्नता अझ प्रभावकारी बनाउनुपर्ने बताए। अन्तर्राष्ट्रिय जलवायु वार्तामा नेपालको सहभागिता सम्मेलन केन्द्रित नभई निरन्तर र संस्थागत हुनुपर्ने उनको भनाइ छ।