धरहराको सुरक्षा जिम्मा निजी कम्पनीलाई, टेन्डर आह्वान


काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइले धरहराको सुरक्षा सेवाका लागि टेन्डर आह्वान गरेको छ।

एकाइले बिहीबार सूचना जारी गर्दै राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत योग्य कम्पनी तथा फर्मबाट आवेदन माग गरेको हो। धरहराको सुरक्षा सेवाका लागि अनुमानित लागत भ्याट र कन्टिन्जेन्सीबाहेक ४४ लाख ११ हजार ५७१ रुपैयाँ ९२ पैसा तोकिएको छ।

बोलपत्रमा सहभागी हुनेले १ लाख १० हजार रुपैयाँ जमानत राख्नुपर्नेछ। इच्छुक कम्पनी वा फर्मले असोज २१ गते साँझ ५ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ।

दर्ता भएका बोलपत्र असोज २२ गते दिउँसो १ बजे खोलिनेछ। एकाइका अनुसार बोलपत्र अनलाइनबाट नभई हार्ड कपीमार्फत मात्र पेस गर्नुपर्नेछ।