त्रिभुवन विमानस्थलमा राहत सामग्री अलपत्र, सांसद न्यौपानेको आपत्ति


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले विभिन्न देश तथा दाता निकायबाट प्राप्त राहत सामग्री त्रिभुवन विमानस्थलको कार्गोमै अलपत्र रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालै विमानस्थल निरीक्षणका क्रममा राहत सामग्री बेवारिसे अवस्थामा भेटिएको बताए। उनका अनुसार कोरोना महामारीका बेला आएका २० कन्टेनर सामग्रीसहित विदेशी दाताबाट प्राप्त लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीसमेत लामो समयदेखि थन्किएका छन्।

भन्सारसम्बन्धी झमेलाका कारण सामग्री रोकिएको बताइए पनि विपद्का बेला प्राप्त राहतलाई आवश्यक क्षेत्रमा तत्काल पठाउनुपर्ने न्यौपानेको भनाइ छ। उनले विमानस्थलमा थन्किएका सामग्रीको व्यवस्थापन गरी आवश्यकताअनुसार पीडित नागरिकसम्म पुर्‍याउन सरकारसँग माग गरेका छन्।