कर्णालीका प्रादेशिक अस्पतालमा विशेषज्ञ डाक्टर छैनन् : सांसद खड्का


काठमाडौँ । नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा बिरामीले समयमै उपचार पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले क्याथल्याब सञ्चालनमा आएको दुई वर्ष भए पनि कार्डियोलोजिस्ट, युरोलोजिस्ट र न्युरोलोजिस्टजस्ता विशेषज्ञ चिकित्सकको अभाव रहेको बताए। विशेषज्ञ सेवा नहुँदा कर्णालीका बिरामीलाई काठमाडौँ वा लुम्बिनीसम्म रिफर गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

डायलासिस मेसिनसमेत पटक–पटक बिग्रिने गरेको उल्लेख गर्दै खड्काले भौगोलिक विकटता र आर्थिक कठिनाइका कारण उपचारका लागि बाहिर जान नसक्ने नागरिकलाई लक्षित गरी कर्णालीमा स्वास्थ्य सेवा विस्तार गर्न सरकारसँग माग गरे।