बाढी–पहिरो प्रभावित विद्यालयको पुनर्निर्माणमा तत्काल ध्यान दिन माग


काठमाडौँ । नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले बाढी–पहिरोबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण गरी बालबालिकाको पठनपाठन तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालै रसुवाका विभिन्न क्षेत्रमा गरेको स्थलगत अवलोकनका क्रममा कैयौँ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको र विद्यार्थीको विद्यालयसम्मको पहुँच टुटेको बताइन्।

विद्यालय लामो समय बन्द हुँदा बालबालिकाको सिकाइसँगै मनोवैज्ञानिक असरसमेत पर्ने भन्दै हमालले विद्यालय पुनर्निर्माण नहुँदासम्म वैकल्पिक सिकाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले विपद्पछिको दीर्घकालीन पुनर्निर्माणमा सडक, विद्यालय र स्थानीय व्यवसायलाई प्राथमिकतामा राख्नसमेत आग्रह गरिन्।