प्रधानसेनापति सिग्देलले भेटे चिनियाँ रक्षामन्त्री


काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र चीनका रक्षामन्त्री एढमिरल डोङ जुनबीच औपचारिक भेटवार्ता भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देलले बुधबार चिनियाँ रक्षामन्त्री जुनसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा नेपाल–चीनबीचको आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जंगी अड्डाले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमणसमेत गरेका छन् । उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ शाङसान फोरमको उद्घाटन सत्रमा पनि सहभागिता जनाएका छन् ।