काठमाडौँ । छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने काममा सेवाग्राहीसँग घुस मागेको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन् ।
काठमाडौँ डिल्लीबजारस्थित नापी कार्यालयअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुखसमेत रहेका वलीले सम्बन्धित काममा सेवाग्राहीलाई अनावश्यक दुःख दिई घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको थियो ।
आयोगको टोलीले वलीलाई भदौ ३१ गते टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो । आयोगका अनुसार उनको साथबाट घुसबापत लिएको भनिएको ९ लाख रुपैयाँसमेत बरामद भएको छ ।
वलीविरुद्ध घुस/रिसवत तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।


















प्रतिक्रिया