कुमार बेनमाथिको आरोपमा सांसद लालविक्रमको प्रश्न : प्रमाण कहाँ छ ?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले पार्टी नेता तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि लगाइएका आरोप प्रमाणसहित सार्वजनिक गर्न चुनौती दिएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले सांसद डा. अमरेशकुमार सिंहले बेनमाथि लगाएका आरोप भ्रामक रहेको दाबी गर्दै प्रमाण नभए तत्काल फिर्ता लिन माग गरे । संसद् कसैको चरित्रमा प्रश्न उठाउने थलो बन्न नहुने उनको भनाइ थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई पेस्तोल देखाएको लगायतका आरोपको प्रमाण सार्वजनिक गर्नुपर्ने उल्लेख गर्दै थापाले तथ्यहीन आरोपले पार्टी र सरकारप्रतिको जनविश्वासमा असर पार्ने दाबी गरे ।

उनले विगतमा सभापति रवि लामिछानेमाथि पनि यस्तै आरोप लगाइएको दाबी गर्दै पार्टी सुशासन र नागरिकको भरोसा कायम राख्न प्रतिबद्ध रहेको बताए ।