काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा वैकल्पिक सडक निर्माण गरी यातायात सञ्चालनमा ल्याइएपछि राजमार्गमा सवारी साधनको चाप बढेको छ ।
भदौ १० गतेको बाढी र पहिरोले कृष्णभीर क्षेत्रमा सडक कटान भएपछि अवरुद्ध पृथ्वी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो । असोज १ गतेदेखि कृष्णभीर क्षेत्रमा दुवैतर्फको सडक सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित यातायात सेवा क्रमशः सहज बन्दै गएको छ ।
सडक अवरुद्ध हुँदा काठमाडौँलगायत विभिन्न स्थानबाट आवतजावत गर्ने यात्रुवाहक तथा मालवाहक सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको थियो । अहिले कृष्णभीरको वैकल्पिक मार्ग सञ्चालनमा आएपछि ती सवारी साधन पुनः पृथ्वी राजमार्गतर्फ फर्किन थालेका छन् ।
दुवैतर्फ सडक खुलेसँगै निजी, सार्वजनिक तथा मालवाहक सवारी साधनको आवागमन बढेको छ । यद्यपि, बाढी र पहिरोबाट क्षतिग्रस्त क्षेत्रमा जोखिम कायमै रहेकाले सावधानीपूर्वक सवारी सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ ।
तत्कालका लागि वैकल्पिक सडकबाट यातायात सञ्चालन भए पनि क्षतिग्रस्त सडकको स्थायी पुनर्निर्माण आवश्यक रहेको बताइएको छ । काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख मार्ग भएकाले कृष्णभीरमा यातायात सुचारु हुँदा यात्रु तथा मालसामान ओसारपसारमा सहजता आएको छ ।



















प्रतिक्रिया