ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन् ।
ललितपुरमा आयोजित काठमाडौँ उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै महर्जनले राति सार्वजनिक यातायात प्रयोग गर्ने श्रमिक तथा न्यून आय भएका वर्गलाई लक्षित गरी यस्तो व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनका अनुसार सेवामा लाग्ने खर्च उपत्यकाका १८ वटै स्थानीय तहले मिलेर व्यहोर्नुपर्छ ।
महर्जनले काठमाडौँ र ललितपुर महानगरपालिकाले तुलनात्मक रूपमा ठूलो हिस्सा व्यहोर्न तयार हुनुपर्ने बताए । अहिले रात्रिकालीन बस सेवाको ब्रेक–इभेन अवस्थालाई निरन्तरता दिँदै निश्चित मिति तोकेर आगामी वैशाख १ गतेदेखि वा उपयुक्त समयबाट सेवा निःशुल्क गर्न सकिने उनको प्रस्ताव छ ।
मेट्रो रेल सञ्चालन हुन लामो समय लाग्न सक्ने भन्दै महर्जनले त्यस अवधिसम्म रात्रिकालीन बसलाई सार्वजनिक यातायातको विकल्पका रूपमा विस्तार र व्यवस्थित गर्नुपर्ने बताए । उनले रात्रिकालीन बस निःशुल्क गर्दा सार्वजनिक यातायात क्षेत्रमा महत्वपूर्ण परिवर्तन आउन सक्ने धारणा राखे ।



















प्रतिक्रिया