काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार साउन र भदौमा ३२८ वटा उद्योग तथा परियोजनाका लागि उक्त लगानी प्रतिबद्धता आएको हो । तीमध्ये ३२२ वटा उद्योग स्वचालित मार्गबाट ९ अर्ब ७४ करोड ५० लाख रुपैयाँ र ६ वटा उद्योग स्वीकृति मार्गबाट १ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।
भदौमा मात्रै १३६ परियोजनाका लागि ६ अर्ब ३५ करोड १५ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । साउनमा १९२ परियोजनामार्फत ४ अर्ब ७७ करोड २८ लाख रुपैयाँ प्रतिबद्धता आएको थियो ।
गत आर्थिक वर्षको सोही अवधिमा ३३ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यस वर्षको सुरुवाती दुई महिनाको प्रतिबद्धता गत वर्षको तुलनामा उल्लेख्य कम हो ।
रकमका आधारमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै ३ अर्ब ७४ करोड २८ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । सूचना प्रविधि क्षेत्रमा भने सबैभन्दा धेरै २१२ वटा परियोजना दर्ता भएका छन् । प्रस्तावित उद्योग सञ्चालनमा आए ३ हजार ४४७ जनाले रोजगारी पाउने विभागको अनुमान छ ।



















प्रतिक्रिया