जनमत पार्टीको नेतृत्वमा फेरि सिके राउत


काठमाडौँ । जनमत पार्टीको अध्यक्षमा डा. सिके राउत पुनः निर्विरोध हुने भएका छन् । पार्टीको दोस्रो महाधिवेशनका लागि अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेपछि उनी पुनः अध्यक्ष बन्ने निश्चित भएको हो ।

असोज ९ र १० गते पर्साको वीरगञ्जमा हुने दोस्रो महाधिवेशनका लागि असोज १ गते उम्मेदवारी दर्ता गरिएको थियो । पार्टीका निवर्तमान महासचिव चन्दन सिंहका अनुसार विभिन्न पदमा १०३ जनाले उम्मेदवारी दिँदा अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेको छ ।

अध्यक्षबाहेकका पदमा भने प्रतिस्पर्धा हुने भएको छ । सात उपाध्यक्षका लागि १४, महासचिवका लागि तीन, उपमहासचिवका लागि दुई र सात सचिव पदका लागि १० जनाको उम्मेदवारी परेको छ । कार्यकारिणी समिति सदस्यका लागि ७३ जनाले उम्मेदवारी दिएका छन् ।

बहु-उम्मेदवारी परेका पदमा निर्वाचन हुने भए पनि त्यसअघि सहमतिको प्रयास भइरहेको सिंहले बताएका छन् । उम्मेदवारी फिर्ताको समय सकिएपछि अध्यक्षसहित पदाधिकारीको आधिकारिक घोषणा असोज १० गते गरिने जनाइएको छ ।