अर्थमन्त्री डा. वाग्लेको भारत भ्रमण उपलब्धिमूलक, झण्डाको विषयमा रास्वपाले के भन्यो ?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमण उपलब्धिमूलक रहेको बताएको छ ।

पार्टी सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले भ्रमणका क्रममा दुई देशबीचको आर्थिक साझेदारी, द्विपक्षीय हित तथा सहयोगका विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिए । उनका अनुसार भारतीय पक्षबाट बाढी प्रभावित क्षेत्रका लागि प्राप्त सहयोगप्रति पनि धन्यवाद व्यक्त गरिएको थियो ।

भ्रमणका क्रममा नेपालको राष्ट्रिय झण्डा नराखिएको र भारतीय झण्डा मात्रै देखिएको भन्दै उठेको प्रश्नबारे पनि रास्वपाले स्पष्टीकरण दिएको छ । प्रवक्ता खरेलले औपचारिक द्विपक्षीय भेटवार्ता तथा प्रतिनिधिमण्डलस्तरीय छलफलमा नेपाल र भारत दुवै देशका राष्ट्रिय झण्डा राखिएको दाबी गरे ।

भारतीय मन्त्रीको कार्यकक्षमा भएको अनौपचारिक भेटको तस्बिरमा भारतीय झण्डा मात्रै देखिएको उनको भनाइ छ । औपचारिक वार्ता नभएको त्यस्तो भेटको तस्बिरलाई लिएर अनावश्यक विवाद गर्न नहुने रास्वपाको धारणा छ ।

खरेलले झण्डाको विषयभन्दा भ्रमणबाट नेपालले हासिल गरेका उपलब्धि र आर्थिक सहकार्यमा भएको प्रगतिलाई मुख्य विषयका रूपमा लिनुपर्ने बताए ।