संविधानमाथि भइरहेको प्रहारबारे अमरेश सिंहको यस्तो धारणा


जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले वर्तमान संविधानमाथि आन्तरिक तथा बाह्य विभिन्न शक्तिबाट प्रहार भइरहेको दाबी गरेका छन् ।

आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले वर्तमान संविधान असफल भए लामो समयसम्म नयाँ संविधान बन्न नसक्ने बताएका हुन् । संविधान गुमे देश गृहयुद्धको चक्रव्यूहमा फस्न सक्ने र मधेस आन्दोलन तथा जनयुद्धबाट प्राप्त अधिकारसमेत गुम्ने उनको भनाइ थियो ।

केन्द्रमा सत्ता सञ्चालन गर्नेहरूले मधेसलाई निरन्तर उपेक्षा गरेको आरोप लगाउँदै सिंहले मधेस र कोशी प्रदेशलाई रणनीतिक रूपमा ‘ब्याटल ग्राउन्ड’ बनाउने प्रयास भइरहेको दाबी गरे । आफ्नै पार्टी नेतृत्वको सरकार भए पनि जनताका सवालमा सरकारलाई खबरदारी गरिरहने उनले बताए ।

सिंहले मधेसमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति–सुरक्षा र सरसफाइजस्ता आधारभूत सेवाको अवस्था अझै कमजोर रहेको उल्लेख गरे । मधेसमा अहिलेसम्म स्तरीय सरकारी मेडिकल कलेज वा सुपर स्पेसियालिटी अस्पताल नहुनु विडम्बनापूर्ण रहेको उनको टिप्पणी थियो ।

मधेसका समस्या र जनअपेक्षालाई प्रत्यक्ष रूपमा बुझ्न छठ पर्वको अवसर पारेर जनकपुरधामबाट ‘मेची–महाकाली पैदल यात्रा’ सुरु गर्ने घोषणा पनि सिंहले गरेका छन् ।