भदौ महिनामा १७९ वटा अपराधका मुद्दा


भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी १७९ वटा मुद्दा दर्ता गरेको छ। तीमध्ये ५७ वटा मुद्दा फछ्र्योट भएको परिसरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

प्रहरीका अनुसार जघन्य अपराधतर्फ हत्या, जबर्जस्ती करणी, लागुऔषध तथा हातहतियारसम्बन्धी गरी १० वटा मुद्दा दर्ता भएका छन्। आर्थिक अपराधतर्फ ९६ वटा मुद्दा दर्ता भएकामा बैंकिङ कसुरका ७७ र ठगीका १९ वटा रहेका छन्।

अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूबाट ४४ वर्ष ६ महिना ३ दिन कैद सजाय कार्यान्वयनका लागि पठाउनुका साथै १ करोड २२ लाख १९ हजार ५७० रुपैयाँ जरिवाना असुल गरिएको छ।

भदौमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी नौ वटा मुद्दा दर्ता भएका छन् भने घरेलु हिंसाका १३ वटा उजुरी परेका छन्। त्यस्तै, २३ वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु र ३५ जना घाइते भएका छन्।

प्रहरीले सवारी नियम उल्लंघन गर्ने २ हजार ९४७ वटा सवारी साधनलाई कारबाही गरी १३ लाख ९२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ। यसै क्रममा सृजनानगरबाट १९ वर्षीय रामकृष्ण शर्माको साथबाट १२ राउन्ड अवैध गोली बरामद गरिएको प्रहरीले जनाएको छ।