बंगालको खाडीमा बनेको प्रणाली नेपालतर्फ, वर्षा बढ्न सक्ने


काठमाडौँ । बंगालको खाडीमा विकसित नयाँ मौसमी प्रणाली क्रमशः सक्रिय बन्दै गएपछि नेपालमा वर्षाको सम्भावना बढेको छ। यद्यपि, यसले नेपालमा पार्न सक्ने प्रभाव र जोखिमको स्तरबारे अहिले नै यकिन गर्न नसकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अण्डमान सागर आसपास विकास भएको न्यून चापीय प्रणाली हाल बंगालको खाडीको पूर्व–मध्य क्षेत्रमा केन्द्रित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् बिनु महर्जनका अनुसार प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै जाने क्रममा थप संगठित र बलियो बन्न सक्ने सम्भावना छ।

नयाँ प्रणालीका कारण आगामी दिनमा नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने भए पनि वर्षाको मात्रा, प्रभावको क्षेत्र र सम्भावित जोखिमबारे थप अध्ययन आवश्यक रहेको महाशाखाको भनाइ छ। विभागले प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ।

यसैबीच, आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भन्दै महाशाखाले पहेंलो चेतावनी जारी गरेको छ।

पछिल्लो २४ घण्टामा तनहुँको खानीखोला स्टेसनमा ४१.८ मिलिमिटर र मकवानपुरको सिलिङ्गेमा ३८.८ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।