चिलिमेको ठाउँमा सोलु कोरिडोरबाट बंगलादेश विद्युत् निर्यातको तयारी


काठमाडौँ । भोटेकोशी बाढीका कारण त्रिशूली र चिलिमे क्षेत्रका जलविद्युत आयोजना क्षतिग्रस्त भएपछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात निरन्तर राख्न वैकल्पिक आयोजना खोजेको छ।

प्राधिकरणले चिलिमे र त्रिशूली आयोजनाको सट्टा सोलु कोरिडोरका अपर सोलुलगायत आयोजनाबाट ४० मेगावाट बिजुली बंगलादेश पठाउने तयारी अघि बढाएको हो। प्राधिकरणका कार्यकारी निर्देशक दिघार्यु कुमार श्रेष्ठका अनुसार क्षतिग्रस्त आयोजनाका कारण सम्झौताअनुसार विद्युत् उपलब्ध गराउन नसक्ने अवस्था आएपछि नियमअनुसार फोर्स मेजर घोषणा गरिएको छ।

तर बंगलादेशतर्फको विद्युत् निर्यात भने रोक्ने पक्षमा प्राधिकरण नरहेको श्रेष्ठले बताएका छन्। वैकल्पिक आयोजनाबाट विद्युत् निर्यातका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग छलफल भइसकेको र स्वीकृति प्राप्त हुने अपेक्षा गरिएको उनले बताए।

नेपालबाट बंगलादेश विद्युत् निर्यातका लागि भारतीय प्रसारण प्रणाली प्रयोग गर्नुपर्ने भएकाले वैकल्पिक आयोजनालाई निर्यात सूचीमा समावेश गर्न भारतीय पक्षको स्वीकृति आवश्यक पर्नेछ।

भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोका कारण नेपालबाट भारततर्फ भइरहेको विद्युत् निर्यातमा समेत असर परेको प्राधिकरणले जनाएको छ। बाढीअघि दैनिक ८ सयदेखि १ हजार मेगावाटसम्म भारततर्फ विद्युत् निर्यात हुँदै आएकोमा अहिले घटेर करिब ६ सयदेखि ७ सय मेगावाटमा सीमित भएको श्रेष्ठले जानकारी दिए।