काठमाडौँ । पोखराको लिचीबारी प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सोमबार सुनुवाइ सुरु भएको छ।
पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो।
अख्तियारले तत्कालीन मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्ने तथा भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको छ। त्यस्तै, गुप्ता र श्रेष्ठले मिलेमतो गरी पदको दुरुपयोग गरेर कार्यसुविधा उपलब्ध गराउने भन्दै २५ लाख रुपैयाँ घुस लिएको आरोप पनि अख्तियारको छ।
आयोगले ७८ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो। अनुसन्धानका क्रममा अडियो प्रमाण, बैंक कारोबार विवरण तथा डिजिटल फरेन्सिक परीक्षणबाट घुस लेनदेनसम्बन्धी तथ्य पुष्टि भएको दाबी अख्तियारले गरेको छ।
मुद्दामा दुई पूर्वमन्त्रीसँगै तत्कालीन मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारी, घरजग्गा व्यवसायी तथा बिचौलियासहित अन्य व्यक्तिलाई प्रतिवादी बनाइएको छ। पोखरा महानगरपालिका–१६ स्थित दीपविर्ता अर्थात् लिची बगैँचामा रहेका भनिएका नक्सा नम्बर २५, २६ र २८ का जग्गासम्बन्धी विषयमा यो भ्रष्टाचार प्रकरण जोडिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।



















प्रतिक्रिया