मुख्यमन्त्री खगराज भट्टले बोलाए नेकपा संसदीय दलको बैठक


धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज संसदीय दलको बैठक बोलाएको छ। मुख्यमन्त्री तथा संसदीय दलका नेता खगराज भट्टले दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन्।

बैठकमा प्रदेश सरकारको आगामी बजेट, सरकार सञ्चालन तथा पार्टीभित्र देखिएको असन्तुष्टिका विषयमा छलफल हुने बताइएको छ। पछिल्लो समय प्रदेश सरकारको बजेट निर्माण र कार्यान्वयनलाई लिएर देखिएको अन्योलका बीच संसदीय दलको बैठक बस्न लागेको हो।

चालु आर्थिक वर्ष सुरु भएदेखि नै सुदूरपश्चिम प्रदेश सरकार बजेटविहीन अवस्थामा छ। अघिल्लो सरकारले प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि नयाँ बजेट आउन सकेको छैन।

बजेट पारित नहुँदा प्रदेश सरकारका नियमित कार्यक्रम तथा विकास निर्माणका काम प्रभावित भइरहेका छन्। यही परिस्थितिबीच मुख्यमन्त्री भट्टले असोज १५ गतेभित्र चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी अघि बढाएका छन्।

आजको संसदीय दलको बैठकलाई आगामी बजेट, सरकार सञ्चालन र पार्टीभित्रको असन्तुष्टि व्यवस्थापनका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।