२८ वर्षमा यती एअरलाइन्सको उडान यात्रा, एक वर्षमा ९ लाख यात्रु


काठमाडौं । नेपालको आन्तरिक हवाई सेवामा यती एअरलाइन्सले २८ वर्ष पूरा गरेको छ। सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको कम्पनीले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिएको जनाएको छ।

२८ वर्षको यात्रामा यात्रुको विश्वास, उड्डयन सुरक्षा र सेवा गुणस्तरलाई प्राथमिकतामा राख्दै आएको कम्पनीको भनाइ छ। बदलिँदो हवाई बजार र बढ्दो प्रतिस्पर्धाबीच यात्रुको अपेक्षाअनुसार सेवा सुधारलाई निरन्तरता दिँदै आएको यतीले जनाएको छ।

कम्पनीका अनुसार पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिन सक्नु यात्रुमाझ आफ्नो सेवाप्रतिको निरन्तर विश्वासको संकेत हो। यात्रु संख्या मात्रै नभई सुरक्षित उडान, सञ्चालन विश्वसनीयता र समग्र यात्रु अनुभवलाई पनि कम्पनीले आफ्नो सेवाको महत्वपूर्ण सूचकका रूपमा लिएको छ।

यतीले टिकट बुकिङदेखि विमानस्थल सेवा र उडान अनुभवसम्मका प्रक्रियालाई थप सहज बनाउने प्रयास गरिरहेको जनाएको छ। यात्रुका सुझाव तथा प्रतिक्रियालाई सेवा सुधारको आधार बनाउँदै डिजिटल प्रणाली र ग्राहक सम्पर्क सेवालाई समेत प्रभावकारी बनाउनेतर्फ कम्पनी केन्द्रित रहेको बताइएको छ।

उड्डयन सुरक्षालाई मुख्य प्राथमिकतामा राख्दै नियमित प्राविधिक निगरानी, जनशक्तिको तालिम तथा सुरक्षा व्यवस्थापनमा निरन्तर सुधार गरिरहेको कम्पनीको दाबी छ।

नेपालको आन्तरिक हवाई यातायात पर्यटन, व्यापार तथा आवागमनको महत्वपूर्ण माध्यम भएकाले सेवा विस्तारसँगै सुरक्षित र भरपर्दो हवाई सेवा उपलब्ध गराउने प्रतिबद्धता यतीले जनाएको छ। २८ वर्षको अनुभवलाई आधार बनाउँदै आगामी दिनमा यात्रु अनुभव, सञ्चालन दक्षता र डिजिटल सेवामा थप सुधार गर्ने कम्पनीको योजना छ।