जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा ड्युटीमा रहेका चिकित्सक सरोज साहमाथि हातपात तथा कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया र जनकपुरधाम उपमहानगरपालिका–८ की २६ वर्षीया सुधिरा मुखिया बिन रहेका छन्।
प्रहरीले पक्राउ परेका दुवै जनालाई धनुषा जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार उनीहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३ (ग) अन्तर्गत अनुसन्धान भइरहेको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ। उक्त ऐनअनुसार कसुर पुष्टि भएमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।
गत बिहीबार प्रादेशिक अस्पताल जनकपुरको बर्थिङ सेन्टरमा प्रसूतिका लागि आएकी महिलाका आफन्तले शल्यक्रियामा लापरबाही भएको आरोप लगाउँदै ड्युटीमा रहेका चिकित्सक साहमाथि हातपात तथा कुटपिट गरेका थिए।
घटनापछि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका थिए। उपचारमा लापरबाही भएको आशंका भए सम्बन्धित निकायमा उजुरी तथा छानबिनको बाटो अपनाउनुपर्ने भन्दै चिकित्सकहरूले स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिमाथि कारबाहीको माग गरेका थिए।
प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्यकर्मीमाथि पटक–पटक हातपात तथा दुर्व्यवहारका घटना दोहोरिँदै आएको भन्दै चिकित्सकहरूले कार्यस्थलमा सुरक्षित वातावरण सुनिश्चित गर्न माग गर्दै आएका छन्।



















प्रतिक्रिया