काठमाडौँ । बाढीपहिरो र नदी कटानका कारण सडक तथा पुलमा हुने क्षति न्यूनीकरण गर्न सरकारले दीर्घकालीन रूपमा ‘अग्ला पुल’ निर्माण गर्ने नीति अघि बढाउने भएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको सोमबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले विपद्का कारण सडक पूर्वाधारमा दोहोरिने क्षति रोक्न पुलको डिजाइनमै परिवर्तन आवश्यक रहेको बताए ।
उनका अनुसार भदौ १० गते आएको बाढीले त्रिशूली नदीका ३७ वटा पुल बगाउँदा सडक सञ्जालसमेत प्रभावित भएको छ । यस्ता विपद्का समस्या दीर्घकालीन रूपमा समाधान गर्न नदीको बहाव र जोखिमलाई ध्यानमा राखेर अग्ला पुल निर्माणतर्फ अघि बढ्ने मन्त्रालयको योजना छ ।
तत्काल सडक सञ्जाल सञ्चालनमा ल्याउन भने मन्त्रालयले बेलिब्रिज जडानलाई प्राथमिकता दिएको छ । लामो दूरीका पुल बगेका स्थानमा १०० मिटर लामो बेलिब्रिजको अभाव भएकाले समस्या भएको सचिव सिग्देलले बताए । आवश्यक बेलिब्रिजका लागि दातृ राष्ट्रहरूसँग सहयोग मागिएको र सामग्री प्राप्त भएपछि अस्थायी रूपमा सडक जोड्ने काम अघि बढाइने उनले जानकारी दिए ।
सिग्देलका अनुसार हालैको बाढीपहिरोबाट सडक पूर्वाधारमा करिब २० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको विभागीय मूल्याङ्कन छ । क्षतिग्रस्त आयोजनाको विवरण संकलन गरी तत्काल र दीर्घकालीन पुनर्स्थापनाको खाका तयार गरिएको उनले बताए ।
मन्त्रालयले तत्काल पुनर्स्थापनाका लागि २१ दिने कार्ययोजना बनाएर काम गरिरहेको छ । क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणका लागि आठ वटा छुट्टाछुट्टै समिति गठन गरिएको र समितिहरूले दैनिक गतिविधिको रिपोर्टिङ गरिरहेको सचिव सिग्देलले जानकारी दिए ।


















प्रतिक्रिया