निखिलको ‘आचार्य’ भारतमा पनि चर्चाको विषय


काठमाडौँ । अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्मआचार्य’ को ट्रेलरले नेपालसँगै भारतमा पनि चर्चा पाउन थालेको छ ।

शनिबार सार्वजनिक गरिएको ट्रेलरबारे भारतका विभिन्न क्षेत्रका फिल्म पत्रकार तथा दर्शकले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाइरहेका छन् । विशेषगरी दक्षिण भारतीय फिल्म क्षेत्रसँग सम्बन्धित दर्शक तथा फिल्मप्रेमीहरूले ट्रेलरमा देखाइएको एक्सन, प्रस्तुति र प्राविधिक पक्षबारे चासो देखाएका छन् ।

ट्रेलर सार्वजनिक भएपछि नेपाली फिल्मको बदलिँदो निर्माण शैलीबारे समेत भारतीय फिल्म वृत्तमा चर्चा हुन थालेको निर्माण पक्षको भनाइ छ । नेपालमा पनि फिल्मको एक्सन, निखिल उप्रेतीको प्रस्तुति र निर्माण स्तरलाई लिएर दर्शकको चासो बढेको जनाइएको छ ।

निखिलकै होम प्रोडक्सन ब्यानरमा निर्माण भएको ‘आचार्य’ आगामी ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय रहेको छ ।

फिल्ममार्फत पूर्णिका सिजापति र सजिना श्रेष्ठले अभिनयमा डेब्यु गर्दैछन् । यस्तै, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसहित ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका बास्तोलालगायत कलाकारको अभिनय रहेको छ ।