. एमाले बैठकमा बोल्ने समय तोकियो, प्रत्येक सदस्यलाई ३ मिनेट


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्ने प्रत्येक केन्द्रीय सदस्यका लागि तीन मिनेटको समय तोकिएको छ ।

बैठकको सुरुवातमा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रत्येक सदस्यले निर्धारित समयभित्र विषय केन्द्रित भएर आफ्नो धारणा राख्नुपर्ने जानकारी गराए । तीन मिनेटमा समेट्न नसकेका विषय लिखित रूपमा पेश गर्न सकिने उनले बताए ।

ओलीले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन अध्ययनका लागि सोमबारको बैठक छिट्टै टुंग्याउने र मंगलबारदेखि प्रतिवेदनमाथि छलफल अघि बढाउने जानकारी दिए । प्रतिवेदन अध्ययनपछि बोल्ने नेताहरूले विषयमा केन्द्रित भएर मात्रै धारणा राख्नुपर्ने उनको निर्देशन छ ।

बैठकको अनुशासनसम्बन्धी नियमबारे जानकारी दिँदै ओलीले मंगलबारदेखि बैठकस्थलमा मोबाइल फोन नल्याउन निर्देशन दिए । मोबाइल ल्याएर भिडियो खिच्ने, अडियो रेकर्ड गर्ने तथा बैठकलाई लाइभ गर्ने कार्यमा समेत रोक लगाइएको उनले बताए ।

त्यसैगरी, बैठकमा आफ्नो आसन छाड्दा वा बोल्नुपर्दा अध्यक्षको अनुमति लिनुपर्ने नियम पनि लागू गरिएको छ । स्वस्थ, सभ्य र संगठनात्मक विधिअनुसार छलफलमा सहभागी हुन ओलीले केन्द्रीय सदस्यहरूलाई आग्रह गरे ।

बैठक एमालेका लागि विभिन्न जिम्मेवारी र चुनौती बोकेको अवस्थामा भइरहेको उल्लेख गर्दै ओलीले पार्टीले जनतामाझ देखिएका भ्रम चिर्दै अघि बढ्नुपर्नेमा समेत जोड दिए ।