काठमाडौँ । सभामुख देवराज अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, संसदीय सहकार्य तथा पछिल्लो विपद्मा भारतले गरेको सहयोगबारे छलफल भएको छ।
सभामुख अर्यालले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध र सहकार्य थप सुदृढ बनाउन योगदान पुगेको बताए। उनले नेपालमा पछिल्लो समय आएको विनाशकारी विपद्का क्रममा भारतले उद्धारकर्ता तथा छिमेकीका रूपमा उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे।
भारतीय वायुसेनाका विमानमार्फत राहत तथा उद्धार सामग्री नेपाल ल्याइएको, सुरुङ उद्धारका लागि विशेषज्ञ टोली तथा फरेन्सिक विज्ञसहित प्राविधिक सहयोग उपलब्ध गराइएको स्मरण गर्दै सभामुख अर्यालले कठिन परिस्थितिमा प्राप्त सहयोगले दुई देशबीचको मित्रता र सहकार्यलाई थप बलियो बनाएको बताए।
भेटमा नयाँ प्रतिनिधिसभा गठनपछि बनेको नेपाल–भारत संसदीय मैत्री समूह तथा अन्तरसंसदीय सहकार्यलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो। सभामुख अर्यालले संसदीय कूटनीतिमार्फत दुवै देशका सांसदबीच समझदारी, अनुभव आदानप्रदान र सहकार्य विस्तार गर्न सकिने बताए।
भारतीय राजदूत श्रीवास्तवले रसुवामा भएको क्षति अकल्पनीय रहेको उल्लेख गर्दै भारतले राहत तथा उद्धारमा निरन्तर सहयोग गरिरहेको बताए। उनले संकटका बेला भारत सधैँ नेपालको साथमा रहने प्रतिबद्धता व्यक्त गरे।



















प्रतिक्रिया