काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि सरकार विभिन्न निकायसँग समन्वय गरेर अघि बढिरहेको बताएका छन्।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को प्रतिनिधिमण्डलसँग सोमबार मन्त्रालयमा भएको भेटमा मन्त्री तिमिल्सिनाले बाढी प्रभावितको पुनःस्थापना र पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए। प्रभावित नागरिकको वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ थियो।
बाढीका कारण विस्थापित परिवारलाई पुरानै स्थानमा फर्काएर बसोबास गराउन कठिन रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने विषयमा स्थानीय तहसँग छलफल भइरहेको जानकारी दिए। उपयुक्त स्थान पहिचान गरी प्रभावित परिवारलाई सुरक्षित रूपमा पुनःस्थापित गर्ने सरकारको तयारी रहेको उनले बताए।
मन्त्री तिमिल्सिनाले पुनःस्थापना र पुनर्निर्माणका कामलाई विभिन्न निकायले छुट्टाछुट्टै रूपमा अघि बढाउनुभन्दा एकीकृत योजनामार्फत सञ्चालन गर्नुपर्नेमा जोड दिए। एउटा निकायले नेतृत्वदायी भूमिका लिएर अन्य सरकारी तथा गैरसरकारी संस्थाबाट आवश्यक सहयोग परिचालन गर्दा काम प्रभावकारी र छिटो सम्पन्न हुने उनको भनाइ थियो।
भेटमा एनआरएनएका पदाधिकारीले भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना तथा पुनर्निर्माणमा सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताएका थिए। भेटवार्तामा सरकारले गरिरहेको काम तथा एनआरएनएले उपलब्ध गराउन सक्ने सहयोगका विषयमा छलफल भएको थियो।



















प्रतिक्रिया