कृष्णगोपाल श्रेष्ठको टिप्पणी– ‘ओली अब पहिलेका ओली रहेनन्’


काठमाडौँ । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीलाई फुटबलका महान् खेलाडी पेलेसँग तुलना गर्दै आफूले दिएको पुरानो अभिव्यक्ति अब सान्दर्भिक नरहेको बताएका छन् ।

बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफू कसैको दबाबमा नपर्ने नेता भएको बताए । उनले ओलीबारे आफ्नो धारणा परिवर्तन भएको संकेत गर्दै आफूले पहिले दिएको ‘केपी ओली इज केपी ओली, फुटबलको पेले हो’ भन्ने अभिव्यक्ति खारेज गरिसकेको बताए ।

‘कसैले पेले भनेर सोचे पनि म पेलिने खालको मान्छे होइन । मैले बोलेका कुराको २०८२ भदौ २२ गतेसम्म सान्दर्भिकता रह्यो । भदौ २३–२४ हुँदै आजसम्म आउँदा अब त्यसको सान्दर्भिकता सकियो,’ उनले भने ।

श्रेष्ठले एमाले पार्टीलाई एकताबद्ध र लोकप्रिय बनाउने विषयमा बैठक सौहार्दपूर्ण रूपमा अघि बढिरहेको दाबी गरे । आफूले बैठकमा आफ्नो धारणा राखेर बाहिरिएको भन्दै उनले बैठक बहिष्कार नगरेको स्पष्ट पारे ।

पार्टीले समयअनुसार आफूलाई सुधार्न नसके अस्तित्वमै संकट आउन सक्ने चेतावनीसमेत उनले दिए । ‘ग्राउन्डलाई बुझ्न सकेनौँ, आफूलाई सच्याउन सकेनौँ भने हामी सक्किनुपर्छ,’ श्रेष्ठले भने ।

गत वर्ष भदौ २३–२४ गते भएको जेनजी आन्दोलनलाई उनले प्रतिगमन नभई क्रान्ति भएको बताए । आफ्नै नेतृत्वमा सरकार रहेका बेला यति ठूलो आन्दोलन हुनु एमालेका लागि गम्भीर समीक्षा गर्नुपर्ने विषय भएको उनको भनाइ थियो ।

‘हाम्रो नेतृत्वमा सरकार हुँदा यति ठूलो आन्दोलन भयो, त्यो हामीले किन सूचना लिन सकेनौँ ? त्यो हाम्रो कमजोरी होइन ? नेकपा जोगाउन नसक्नु हाम्रो कमजोरी होइन ?’ उनले प्रश्न गरे ।