सत्तापक्ष अदालतका निर्णयप्रति आक्रामक बन्दै गएको एमालेको आरोप


काठमाडौँ । नेकपा एमालेका सांसद गुरु बरालले सत्तापक्षबाट न्यायपालिकामाथि निरन्तर आक्रमण भइरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनपछि न्यायपालिकामाथि प्रहारको क्रम बढेको दाबी गरे। उनका अनुसार भदौ २४ गतेको घटनाका क्रममा सर्वोच्च अदालतसहित देशका विभिन्न अदालतमा आगजनी तथा तोडफोड हुँदा महत्त्वपूर्ण मिसिल र अभिलेख नष्ट भएका छन्।

बरालले त्यस्ता घटनाको प्रत्यक्ष असर न्यायको पर्खाइमा रहेका नागरिकमाथि परेको बताए। उनले प्रश्न गरे, ‘अदालतलाई कमजोर पारेर लोकतन्त्र बलियो हुन्छ कि न्यायपालिकालाई स्वतन्त्र, सक्षम र निर्भीक बनाएर?’

उनले सत्तापक्षका सांसदबाट अदालतका निर्णयप्रति राजनीतिक आक्रोश व्यक्त गर्ने तथा न्यायपालिकामाथि प्रहार गर्ने प्रवृत्ति देखिन थालेको आरोप लगाए। यस्तो प्रवृत्तिले गलत नजिर स्थापित गर्ने उनको भनाइ थियो।

अदालतलाई तर्साउने प्रयास भए त्यसको असर अन्ततः नागरिकको न्याय पाउने अधिकारमा पर्ने भन्दै बरालले न्यायपालिकालाई स्वतन्त्र राख्ने संस्कार विकास गर्नुपर्ने बताए।

‘अदालतलाई कब्जा गर्ने होइन, अदालतलाई स्वतन्त्र राख्ने संस्कारको विकास गरौँ,’ उनले भने, ‘अदालत कमजोर भयो भने सबैभन्दा पहिले कमजोर हुने सत्ता होइन, नागरिकको न्याय पाउने अधिकारको आधार नै हो।’