काठमाडौं । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित विपद् जोखिमबाट नागरिकको धनजन जोगाउन सरकारले उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम तीव्र बनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि आवश्यक सावधानी अपनाउन दिएको निर्देशनअनुसार सम्बन्धित मन्त्रालय तथा मातहतका निकायहरू परिचालन भएका हुन्।
कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्दै मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सबै मन्त्रालय र मातहतका निकायलाई उच्च सतर्कताका साथ परिचालन गरिएको जानकारी दिनुभयो। उहाँले स्थानीय तहलाई विपद्पछिको प्रतिकार्यमा आफ्ना स्रोतसाधन प्रयोग गर्न कुनै कञ्जुस्याइँ नगर्न आग्रह गर्नुभयो।
गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै जिल्ला सुरक्षा समितिको बैठक राख्न तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। नदी तटीय क्षेत्रमा माइकिङमार्फत नागरिकलाई सचेत गराउने, जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा अस्पताल, एम्बुलेन्स र स्वास्थ्य संस्थालाई आपत्कालीन सेवाका लागि तयारी अवस्थामा राख्ने काम भइरहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकलाई सुरक्षित स्थानमा सार्न तथा आवश्यक सहजीकरण गर्न होटल व्यवसायीलाई आग्रह गरेको छ। मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न र उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न सकिने व्यवस्था गर्दै असोज ९ देखि ११ गतेसम्मका तोकिएका परीक्षा स्थगित गर्न र सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सहजीकरण गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत अस्पतालमा जनशक्ति, औषधि तथा एम्बुलेन्स सेवा २४ घण्टा तयारी अवस्थामा राखेको जनाएको छ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था कम्पनी र नेपाल आयल निगमलाई खाद्यान्न तथा इन्धनको मौज्दात र नियमित आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको छ। कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनसमेत तीव्र पारिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रमुख नदीमा पाँच दिन र साना नदीमा ४८ घण्टाअघि बाढीसम्बन्धी पूर्वसूचना उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ। नेपाल विद्युत् प्राधिकरणले अवरुद्ध विद्युत् सेवा तत्काल सञ्चालन गर्न कर्मचारीलाई तयारी अवस्थामा राखेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले मनसुनजन्य जोखिमबाट बालीनाली तथा कृषि उपज जोगाउन दैनिक विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरिरहेको छ। पूर्वाधार विकास मन्त्रालयले जोखिमयुक्त सडकखण्डमा डोजर तथा एक्स्काभेटरलगायतका भारी उपकरण तयारी अवस्थामा राखेको छ भने रातिको समयमा जोखिमपूर्ण सडक सञ्चालनमा रोक लगाइएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ११ गतेसम्म ७५३ वटै स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न तथा प्रमुख प्रशासकीय अधिकृतलाई नियमित सम्पर्कमा रहन निर्देशन दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत नेपाल टेलिकमले बाढीको जोखिम भएका क्षेत्रमा नियमित सचेतनामूलक सन्देश पठाउनुका साथै ११५५ मा डायल गरेर मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना लिन सकिने व्यवस्था गरेको छ।
आपत्कालीन अवस्थामा नागरिकले जल तथा मौसम विज्ञान विभाग ११५५, जिल्ला आपत्कालीन केन्द्र १२३४, हेलो सरकार ११११, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी १११४ मा सम्पर्क गरी सहयोग लिन सक्नेछन्।



















प्रतिक्रिया