घर चोरीको आरोपमा कार्यपालिका सदस्यसहित चार जना पक्राउ


बैतडी । बैतडीमा चोरीका विभिन्न घटनामा संलग्न रहेको आरोपमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्यसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य विनोद राम लोहार, वडा सदस्य महेश राम लोहार तथा तवि राम लोहार र लक्ष्मण सिंह मेनी रहेका छन् । उनीहरूलाई चोरीका घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार करिब एक महिनाअघि दशरथचन्द नगरपालिका–५ आल गाउँका जयदेव भट्टको घरमा कोही नभएको मौका छोपी छत फुटाएर तामाका भाँडाकुँडा चोरी गरिएको थियो ।

यस्तै, दशरथचन्द नगरपालिका–४ आलामा मधुसूदन भट्टको घरमा छतबाट प्रवेश गरी चोरी गरिएको तथा राजु भट्टको घरको ढोका फोडेर समेत चोरीको प्रयास गरिएको प्रहरीले जनाएको छ ।

राजेन्द्र भट्टको घरबाट तीन थान तामाका ताउला, तीन थान तामाका गाग्री, तीन थान पित्तलका बाटा, चार थान तामाका बाटा र तीन थान तामाका लोटा चोरी भएको प्रहरी निरीक्षक सिंहले बताए ।

प्रहरीका अनुसार चोरीका घटनाबारे अनुसन्धान गर्ने क्रममा पक्राउ परेकाहरूको संलग्नता देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकामध्ये लक्ष्मण सिंह मेनीले चोरीका केही सामान खरिद गरी झुलाघाटतर्फ लगेर बिक्री गरेको खुलेको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न रहेको आरोप लागेका दिनेश लोहार भने फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि चोरीका घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।