चाडपर्वमा यात्रु ठगी र क्षमताभन्दा बढी यात्रु बोक्नेलाई नछाड्न समितिको निर्देशन


काठमाडौँ । दसैँ, तिहार र छठलगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ।

सोमबार बसेको समितिको बैठकले चाडपर्वमा यात्रुले भोग्ने सास्ती, टिकटमा हुने ठगी तथा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तत्काल प्रभावकारी कार्ययोजना बनाएर कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सवारी साधनको प्राविधिक परीक्षण, चालकलाई पर्याप्त विश्राम तथा सडकको सुरक्षा अवस्थाको पूर्वमूल्याङ्कन गर्न भनेको छ। तोकिएका स्थान र बसपार्कबाट मात्रै टिकट बिक्री तथा सवारी सञ्चालन गर्ने र यात्रु सहायता कक्ष स्थापना गर्न पनि समितिले जोड दिएको छ।

त्यस्तै, क्षमताभन्दा बढी यात्रु बोक्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न तथा यात्रुहरूलाई बाटोमा अखाद्य वा बासी खाना बिक्री गर्ने होटल तथा रेस्टुरेन्टको नियमित अनुगमन गर्न समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका लागि सार्वजनिक यातायातलाई थप सहज र मैत्रीपूर्ण बनाउनसमेत समितिले ध्यानाकर्षण गराएको छ। भाडादरमा हुने अनियमितता तथा टिकटमा हुने ठगी रोक्न तत्काल कार्ययोजना बनाएर कार्यान्वयन गर्न मन्त्रालयलाई निर्देशन दिइएको छ।

बैठकले चाडपर्व लक्षित यातायात व्यवस्थापन उपसमितिमा सांसद राजुनाथ पाण्डेलाई सदस्यका रूपमा मनोनयन गरेको छ।

समितिका सभापति आशिष गजुरेलले विगतका वर्षमा जस्तै यात्रुले सास्ती भोग्ने वा असुरक्षित यात्राको अवस्था सिर्जना भए सम्बन्धित जिम्मेवार निकायलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।