प्रहरीको पक्राउ शैलीमाथि एमाले सांसद बरालको प्रश्न, ‘यो कस्तो सुशासन हो ?’


काठमाडौँ । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारको सुरक्षा संयन्त्रको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले कर्णालीलगायत विभिन्न क्षेत्रमा विपद्बाट भएको क्षतिप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरिन्। त्यसपछि उनले पछिल्लो समय नागरिकलाई पक्राउ गर्ने प्रहरीको शैलीप्रति सरकारको ध्यानाकर्षण गराइन्।

बरालले नागरिकलाई घरमै सुतिरहेको अवस्थामा ‘अपहरण शैली’मा पक्राउ गर्ने र केही दिनपछि पर्याप्त प्रमाणबिना छाड्ने गरिएको भन्दै आपत्ति जनाइन्। उनले यस्तो कार्यशैलीले राज्यको सुरक्षा संयन्त्रप्रति नै प्रश्न उठेको बताइन्।

उनले भनिन्, ‘राज्यले अपहरण शैलीमा नागरिक सुतकै ठाउँमा गएर पक्राउ गर्ने, अनि १२ दिन नपुग्दै बिनाप्रमाण जेलमा राखेर बाहिर ल्याउने ? यो अहिलेको सुशासन हो कि निरङ्कुशता ? यदि नागरिक दोषी नै हुन् भने किन पक्राउ गरिन्छ ? अनि किन छोडिन्छ ? यो के शैली हो ?’

सांसद बरालले प्रहरीको यस्तो कार्यशैलीले आम नागरिकमा त्रास सिर्जना गरेको दाबी गरिन्। आफूलाई समेत सुतिरहेको अवस्थामा सरकार पक्राउ गर्न आउने हो कि भन्ने डर लाग्न थालेको उनको भनाइ थियो।

उनले नागरिक पक्राउ तथा हिरासतसम्बन्धी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने मागसमेत गरिन्।