विराटनगर । नेपाली नागरिकको नाममा दर्ता रहेको पसलबाट चिनियाँ नागरिकले कस्मेटिक तथा घरायसी सामग्रीको व्यापार सञ्चालन गरेको पाइएको छ।
विराटनगर महानगरपालिका–२ मा रहेको एभरपिक सप्लायर्समा सोमबार गरिएको अनुगमनका क्रममा पसल नेपाली नागरिकको नाममा दर्ता भए पनि व्यापार सञ्चालन भने चिनियाँ नागरिकले गर्दै आएको खुलेको हो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसल राधिका बस्नेत कार्कीको नाममा दर्ता रहेको र व्यापार भने चिनियाँ नागरिक लि जोसिज्याकले सञ्चालन गर्दै आएको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख दीपेश कुमार झाले जानकारी दिए।
अनुगमन टोलीले पसल सञ्चालकलाई बिक्रीमा राखिएका कस्मेटिक तथा घरायसी सामग्रीको खरिदसम्बन्धी सम्पूर्ण बिल तथा कागजात उपलब्ध गराउन निर्देशन दिएको छ। साथै, सामान कहाँबाट खरिद गरिएको हो, कारोबार कसरी भइरहेको छ र व्यवसाय सञ्चालनका लागि आवश्यक कागजात भए–नभएको विषयमा समेत अध्ययन भइरहेको झाले बताए।
पसल सञ्चालन गरिरहेका चिनियाँ नागरिक लि जोसिज्याकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आवश्यक अनुसन्धानका लागि उनलाई अध्यागमन विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
नेपाली नागरिकको नाममा व्यवसाय दर्ता गरी विदेशी नागरिकले व्यापार सञ्चालन गरेको विषयमा प्रशासनले थप अनुसन्धान अघि बढाएको छ। अनुगमनका क्रममा संकलन गरिएका कागजात, खरिद बिल तथा कारोबारसम्बन्धी विवरण अध्ययन गरेपछि व्यवसाय सञ्चालनको कानुनी अवस्था थप स्पष्ट हुने अधिकारीहरूले बताएका छन्।



















प्रतिक्रिया